काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभा हुने भएको छ । बैंकको विशेष साधारणसभा माघ ४ गते हुने भएको हो । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबिनारमार्फत हुने भएको छ । सभामा हिमालयन बैंकसँग मर्ज हुने प्रमुख एजेण्डा पेश हुँदैछ ।
यस्तै हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्जर हुन लागेका हुन् । दुवै बैंक एक भएपछि बैंकको नाम हिमालयन एन्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने एजेण्डा पनि रहेको छ । दुवै बैंक एकभएपछि चुक्ता पुँजी, अधिकृत पुँजी, जारी पुँजी बढ्ने हुँदा सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएपछि एकीकृत कारोबार गर्ने भएका छन् ।
हाल हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का छ । हिमालयन र इन्भेष्टमेन्ट एक आपसमा मर्जमा गएकाले दुवै बैंकको गत वैशाख ३१ गतेदेखि सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकबीच मर्जरका लागि गत वैशाख ३० गते सम्झौता भएको थियो ।