काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघ (एनपीएल) र अनलाइन सेक्युरिटीजको संयुक्त आयोजनामा लगानीकर्ता साक्षरता कार्यक्रम सम्पन्न भएको छ । चैत १९ गते शनिबार महोत्तरी जिल्लाको बर्दिबासस्थित होटल गौतममा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही क्रममा बर्दिबासमै अनलाइन सेक्युरिटीज ब्रोकर नं.४९ को कार्यलयसमेत स्थापना भएको छ ।
उक्त कार्यक्रममा सेयर बजारको विकास र साना लगानीकर्ताको हितमा कार्य गदै आएकी एनपीएलकी अध्यक्ष राधा पोखरेलले आगामी दिनमा सातै प्रदेश र ७७ जिल्लामा कार्यक्रम गर्ने बताएकी छिन् । यस्तै प्रादेशिक स्तरमा रहेका लगानीकर्तालाई साक्षरता प्रदान गर्दै धेरै भन्दा धेरै लगानीकर्तालाई पूँजी बजारमा भित्र्याउने योजना रहेको पनि बताएकी छिन् । आफ्नो जन्मथलोमा सेयर बजारको साक्षरता गर्ने लक्ष्य पनि पुरा भएको बताईन् ।
नेपालको पूँजीबजार राजधानी केन्द्रित मात्र नभई देशको हरेक कुना काप्चामा रहेका व्यक्तिहरुको पहुँचमा पुर्याउन आफू सधैँ लागि पर्ने पनि बताएकी छिन् । यस्तै उनले उक्त कार्यमा साथ दिने अनलाइन सेक्युटरिज लगायत सबैमा आभार प्रकट गरेकी छिन् । उक्त कार्यक्रममा १०० जनाभन्दा बढी उपस्थिति रहेको थियो ।