काठमाडौं । देशभर सञ्चालनमा रहेका २६ नाकामध्ये मुख्य ५ नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुँदै आएको छ । त्यी नाकाबाट ८५ दशमलव ५९ प्रतिशत आयात हुने गरेको छ भने ९१ दशमलव ५९ प्रतिशत निर्यात हुने गरेको विभागले जनाएको छ । विभागको तथ्याङ्रक अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना अर्थात साउनदेखि वैशाखसम्मको अवधिमा वीरगञ्ज, भैरहवा, ड्राइपोर्ट, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलर विराटनगरबाट सबैभन्दा बढी वैदेशिक व्यापार भएको हो ।
सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुनेमा वीरगञ्ज नाका पहिलो रहेको छ । यस नाकाबाट १० महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ६० करोड १९ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ७३ अर्ब ०९ करोड ८७ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।
त्यसैगरी सबैभन्दा धेरै वस्तु आयात निर्यात हुनेमा वीरगञ्ज पछि भैरहवा नाका रहेको छ । यस नाकाबाट १० महिनाको अवधिमा २ खर्ब ५० अर्ब ४४ करोड २९ लाख २९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ अर्ब ५२ करोड ४० लाख ३२ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ ।
विभागका अनुसार वस्तु आयात निर्यात हुने नाकामा तेस्रोमा ड्राईपोट रहेको छ भने चौथोमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थाल र पाचौंमा विराटनगर रहेको छ । भन्सार विभागको अनुसार १० महिनाको अवधिमा ५ भन्सार नाकाबाट उच्च आयात भएको छ । यस्तै भद्रपुर, चोभार १, चोभार, जनकपुर, महेशपुर, राजबिराज, रसुवा, सार्लाही, सुन्सरी, तातोपानी र थाडी भन्सार नाकाहरुबाट भने शुन्य निर्यात भएको विभागले जनाएको छ ।