काठमाडौँ । आर्थिक संकटले कंगालझैं बनेको श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट राजिनामा दिने भएका छन् । उनले यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका हुन् । श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई आफुले राजिनामा दिने बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिंघे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरुले संसदमा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरुले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।
उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।
आर्थिक संकटले गिजोलेको श्रीलंकामा यति बेला ठुलो आन्दोलन भईरहेको छ । त्यहाँको सेनाले आन्दोलनकारीहरुलाई शान्ति अपनाउनसमेत आग्रह गरेको छ ।