काठमाडौं । भाडा समायोजनको माग राख्दै आएका व्यवसायीहरुले दशैंको मुखमा पेट्रोलियम पदार्थको ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । आफुहरुको मागप्रति सरकार गम्भिर नभएको भन्दै आन्दोलित बनेका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले असोज १ गतेबाट देशभरका सबै डिपोहरुमा लोड तथा अनलोड नगर्ने चेतावनी दिएका छन् ।
‘हाम्रो ठूलो माग केही थिएन । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्नुपर्यो भन्ने मात्र हो ।’ नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहोराले भने -‘सार्वजनिक यातायातको भाडा ६६ प्रतिशतले बढ्यो । तर, हाम्रो भाडा २०७३ सालदेखि समायोजन भएको छैन । यस्तै हो भने हामी आन्दोलनलाई थप सशक्त बनाउछौँ ।’
महासंघको भदौ २२ गतेको निर्णय अनुसार भदौ २४ गतेदेखि सम्पूर्ण ढुवानी व्यवसायीले भारतबाट पेट्रोलियम पदार्थ ल्याउने पीडीओ लिन छोडेका छन् ।
देशभरका कुनैपनि क्षेत्रबाट पीडीओ नलिने कार्यक्रमलाई यथावत राख्दै भदौ २९ गतेदेखि अमलेखगञ्ज डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ गर्ने र असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने महासंघ अध्यक्ष बोहोराले बताए ।
‘वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भयो । तर, उपलब्धि मुलक भएन । हामीले भाडा समायोजन गर्नुपर्ने माग राख्यौँ। उहाँहरुले सहसचिवको सरुवा भएको छ, नयाँ सचिव आएपछि छलफल गरौँला भन्नुभयो’, अध्यक्ष बोहोराले भने, ‘सरकारले हाम्रो मागलाई नजरअन्दाज गर्यो । धेरैपटक समय मागियो, तर पनि सुनुवाई भएन । यसपाली भने हामी सशक्त आन्दोलन गर्छौं । सम्पूर्ण ढुवानी ठप्प हुन्छ ।’
पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलनमा पेट्रोलियम डिलर्स एशोसियसनले पनि साथ दिने तयारी गरेको छ ।