काठमाडौँ । खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई रु.१०० बोनस अफर ल्याएको छ । साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ ।
यो बोनस अफर,राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ । साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन् । खल्तीमा बैंक खाता लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ । यो अफर असोज ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन् । खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ । करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू रहेका छन् ।
अफरको बारेमा ‘खल्ती’ डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्काले भने, ‘यस अफर मार्फत हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं । उपभोक्ताहरूले अब पैसा पुन: लोड गर्ने समस्याको सामना गर्नुपर्दैन । खल्तीका धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।’
खल्ती मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन् ।