काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र किङ्गस कलेजबीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’ मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि ओथारो कार्यक्रम मार्फत किङ्गस कलेजले उद्यम तथा व्यवसाय गर्न चाहने देशभरका युवाहरुबाट व्यवसायीक नवप्रवर्तन योजना माग गरी उत्कृष्ठ योजना छनौट गरी परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने भएको छ । तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोही उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने भएको छ ।
सम्झौताले नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५(संशोधन समेत) अन्तर्गत कर्जा कार्यान्वयनमा सहयोग पुर्याउने विश्वास लिइएको छ । समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले यस्तो सम्झौता बैंकले उद्यमशीलता बन्न चाहने युवाहरुलाई लक्षित यो कार्यक्रमले देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए ।
किङ्गस कलेजका अध्यक्ष नरोत्तम अर्यालले यस्तो सम्झौताले उद्यमशीलता गर्न चाहने युवाहरुलाई व्यवसायी बन्न सहयोग पुग्ने बताएका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा प्रवाह र राज्यले अबलम्बन गरेको यस सम्बन्धी नीतिका बारेमा प्रकाश पार्दै सम्पूर्ण सहभागीहरुलाई स्वागत गरेका थिए ।
उक्त अवसरमा बैंकका उपकार्यकारी अधिकृतहरु विमल डंगोल, विनयरमण पौडेल, दुर्गा छत्कुली कँडेल, कलेजका पार्टनरसीप तथा विकास प्रमुख प्रज्वल खड्का, उदगम खड्का लगायतको उपस्थिति रहेको थियो ।