काठमाडौँ । आफुलाई इन्टरनेशनल बैंक भन्न रुचाउने सिटिजन्स बैंक, जहाँ पटक-पटक अनेक खालका सुनकाण्ड घट्ने घटेको यथार्थ घामजस्तै छर्लंग छ । जनताले राखेको सबै सुन सिटिजन्स बैंकमा सुरक्षित छैन, र यस्तो सुन तलमाथि गर्ने घटनामा बैंककै कर्मचारीको संलग्नता रहेको पुष्टी, एक पटक होइन, पटक पटक भईसकेको छ । कहिले लकरबाटै सुन हराउने, कहिले धितो राखिएको सुनमै तलमाथि हुने जस्ता घटनाले सिटिजन्स बैंक सुन राख्नेहरुका लागि बदनाम बनेको बन्यै छ ।
न्युरोड साखामा धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने कर्मचारीहरु पक्राउ परेको घटनादेखि, कुपण्डोल शाखाबाट सुन हराएको काण्डसम्म आईपुग्दा सिटिजन्स बैंक सुन धितो राख्ने, लकरमा सुन राख्ने र सुनको कारोबार गर्नेहरुका लागि असुरक्षित छ भन्ने तथ्यसमेत पटक पटक पुष्टी भईसकेको छ । र फेरी एक पटक एक सुनका कारोबारी सिटिजन्स बैंकले आफ्नो सुन तलमाथि गरिदिएको भन्दै अर्थ सरोकारसम्म गुनासो लिएर आएका छन् । र उनको भनाई छ फेरी पनि सिटिजन्स बैंकमा सुनको कारोबार बिग्रिएको छ ।
यीनी सुनिल बज्राचार्य । घर भक्तपुर । र उनी सिटिजन्स बैंकमा सुनको कारोबार गोलमाल भयो र मलाई पीडीत बनाईयो भन्दै अर्थ सरोकारसम्म आइपुगेका छन् । भक्तपुरको पाण्डुबजारमा सुन व्यवसाय सञ्चालन गर्दे आएका उनले २०६८ सालदेखि सिटिजन्स बैंकको भक्तपुर शाखासंग कारोबार गर्दै आएका थिए । उनका अनुसार उनले त्यतिबेला एक ग्राम सुन बराबर चार हजार पाँच सय र २० प्रतिशत मार्जिन कटाएर सुन धितो कर्जा लिएका थिए । यसका लागि बैंकमा आफुसँग भएको सुन दिएका थिए । पछि सुनको भाउ घटेको भन्दै बैंकले ३० प्रतिशत मार्जिन काट्दै उक्त कर्जाको लागि सुन अपुग भएको बतायो । उनले बैंकमा राखेका सुनको गहनाले कर्जा नथेग्ने भन्दै पुरानो ऋणको तमसुक मिलाउनु पर्छ भन्दै उनलाई थप सुन मागियो । राम्रै कारोबार चलिरहेका कारण उनले बैंकलाई पूरानो तमासुख मिलाउनुपर्छ भनेपछि थप सुन दिए । तर पछि दिएको सोहि सुनको हिसाबकिताब नै गायब भयो । व्यवहारिक हिसाबमिलान र कागजी हिसाबमिलानमा अन्तर देखिएपछि उनको बैंकसँगको लफडा सुरु भयो ।
आफ्नो सुन हराएको भन्दै बज्राचार्य बैंकको साखामा पटक पटक धाए । त्यहाँ केहि सिप नलागेपछि उनी बैंकको केन्द्रीय कार्यालयसम्म पनि धाए । त्यसपछि उनी नेपाल राष्ट्र बैंकमा समेत बैंकले खाईदिएको आफ्नो सुन फिर्ता गराई पाउँ भनेर गए । राष्ट्र बैंकले बैंकका सीइओलाई समेत बोलायो तर सीइओले भनिदिए, हाम्रो बैंकमा त यस्तो धेरै घटना घटेका छन् । कतिपय स्टाफ जेलमा समेत छन् । हुन पनि सिटिजन्स बैंकमा यस्ता सुन काण्ड धेरै भएका छन् र धेरै स्टाफ जेलमा पनि छन् ।
सुनिल बज्राचार्यको कुरा सुन्दा स्पष्ट थाहा हुन्छ, बैंकले गरेका कतिपय कारोबार नियमसंगत छैन । यसअघि सिटिजन्स बैंकमा भएका यस्ता अनेक सुनकाण्डले पनि सिटिजन्स बैंकको सुनसम्बन्धि कारोबार ठिक छैन भन्ने प्रमाणित गर्छ । घटनाक्रमले यस्तो सम्मका नजिर देखाईदिएको छ कि, मानौं अव सिटिजन्स बैंकमा सुन हराउनु वा सुनको कारोबार बिग्रनु ठुलो कुरै रहेन । तर सुनिल बज्राचार्य त भनिरहेका छन् मेरो त थुप्रै सुन हराएको छ र मलाई हराएको मेरो सुन चाहियो । यस विषयमा बैंक के भन्छ त रु हामीले बैंकको धारणा लिन बैंकका सूचना अधिकारी राजेन्द्र लाल श्रेष्ठसँग कुराकानीको प्रयास गर्यौँ । तर उनले हाम्रो फोन नै उठाएनन् । सूचना अधिकारीको फोन नउठेपछि हामीले बैंकका प्रवक्ता नारायण राज अधिकारीलाई फोन गर्यौं । तर अचम्मको कुरा त के रहेछ भने सिटिजन्स बैंकले बैंकको प्रवक्ता भन्दै आफ्नो वेवसाइटमा नम्बर नै गलत राखेको रहेछ । बैंकले आफ्नो वेवसाइटमा नारायणराज अधिकारी भन्दै राखेको फोन नम्बरमा कल गर्दा फोन उठाउनेले आफु नारायणराज अधिकारी नभएको दाबी गरे । यसरी प्रवक्ताको नम्बर नै गलत राख्नु र सूचना अधिकारीले फोन नउठाउनुले पनि सिटिजन्स बैंकभित्र कति रहस्यमय यस्ता घटना छन् भन्ने तथ्यलाई थप शंकाको सुविधा दिएको छ ।
सिटिजन्स बैंकमा घटेका अनेक सुनकाण्डका फेहरिस्त हेर्दा पनि सो बैंकमा सुन हराउनु वा सुनको कारोबार बिग्रनु ठुलो कुरा अव रहेन भन्ने देखिन्छ । तर बैंक भनेको यसरी नै चल्ने हो ? अनि यसरी सुन हराउने बैंकमा ग्राहकले कसरी सुरक्षित हुन्छ भनेर लकरमा सुन राख्ने ? कसरी सुनको कारोबार गर्ने सिटिजन्स बैंकसँग प्रश्नहरु अझै अनुत्तरित छन् । बैंकमा भएका अघिल्ला सुनकाण्डहरु के कस्ता थिए ? को को जेल पुगे वा पुर्याईए । बाहिर नआएका यस्ता थप तथ्यहरुसहित अर्को कुनै अंकमा उपस्थित हुनेनै छौं । र यो अंकमा हामीले उनै बज्राचार्यको पीडा हाम्रो कार्यक्रममा समेटेका छौं ।