काठमाडौँ । यूएस इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरुको वित्तीय आवश्यकता पूरा गर्न एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ । डीएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरुको समाधानका लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो ।
एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताका लागि महिलाहरुलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरु सिर्जना गर्न बैंकले मद्दत गर्नेछ । एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । हालको बैंकिङ तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने बाह्य वित्तीय स्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमूलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको छ ।
एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पुँजीका लागि डीएफसीसहित हालसम्म नौ डेभलपमेन्ट फाइनान्सियल इन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याइसकेको छ । एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।