काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ५६.४६ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ । बैंकले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३७ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको जनाएको हो ।
बैंकका अनुसार समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५८.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा २९६.८८ प्रतिशतले वृद्धि भएको छ । योसँगै बैंकको कुल सञ्चालन आम्दानी ५९.४२ प्रतिशत र सञ्चालन मुनाफामा ५६.४६ प्रतिशत वृद्धि भएको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको बैंकको प्रक्षेपण रहेको छ ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २९ करोड ८५ लाख रुपैयाँ रहेको छ । नाफा बढेसँगै बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ १७ पैसा बढेर ७ रुपैयाँ १ पैसा पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी ८ प्रतिशत बढेको छ भने जगेडा कोष २०.११ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको निक्षेप ३२.६९ प्रतिशत र कर्जा २६१.६३ प्रतिशत बढेको छ ।