काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा आफ्ना ग्राहकहरुका लागि वेबसाइट मार्फत च्याटबट सेवा-‘सिटिजन्स साथिको’ शुभारम्भ गरेको छ ।
यस सेवामार्फत अव ग्राहकहरूले कुनै पनि बैंकिङ सेवाहरूको अनुरोध सिधैं च्याटबट सेवा-सिटिजन्स साथिद्वारा गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकिङ सेवा सम्बन्धी जिज्ञासाहरूको लागि यस प्लेटफर्म मार्फत बैंकका एजेन्टसँग प्रत्यक्ष कुराकानी गर्न सक्नेछन् ।
यो सेवा ग्राहकमैत्री हुनुका साथै ग्राहकहरूका लागी अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १४ लाख ९० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी. तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको जनाएको छ ।