काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग आज छुट्टाछुट्टै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकोले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई उनको निवासमै भेट गरेको थियो ।
सो अवसरमा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ चिन्ता प्रकट गर्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन दुवै नेताहरुलाई आग्रह गरेका थिए। महासंघ यतिखेर अर्थतन्त्र जोगाऔं अभियानमा रहेको छ ।
राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ महासंघका अध्यक्ष गोल्क्षाले ध्यानाकर्षण गराएका थिए । सो अवसरमा महासंघकातर्फबाट शीर्ष नेताहरूसमक्ष देहायको सुझाव समेत पेश गरिएको थियो ।
जसमा निजी क्षेत्रको लगानी संकुचित भै राजस्व समेत निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेको समयमा लागु भएको मार्गदर्शनले व्यवसायमा जटिलता थपेको, व्याजदरको उतारचढाव, राष्ट्रिय अन्तराष्ट्रिय आर्थिक असहजता, अन्तराष्ट्रिय रुपमा आकाशिएको इन्धन एवं कच्चा पदार्थको मूल्य तथा लजिष्टिक्स फ्रेट शुल्कमा समेत बृद्धि भएको उल्लेख छ ।
जसले गर्दा अनुमानित वित्तीय विवरण निर्धारण र चालु पूँजीको वास्तविक आवश्यक सीमा निर्धारण बीच तादाम्यता नमिल्ने र चालु पूँजीको अभावमा उद्योग सञ्चालनमै कठिनाई उत्पन्न भएको महासंघले जनाएको छ ।
दक्षिण एशियामै नेपालको अन्तराष्ट्रिय व्यापारमा लाग्ने समय वढि भएर चौतर्फी समस्या भोगिरहेको अवस्थामा मार्गदर्शन तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै महासंघले उद्योगहरूलाई यसले थप प्रभावित पारेको बताएको थियो ।
महासंघले चालु पूजी मार्गदर्शन २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्न, दुई वर्षसम्म मार्गदर्शनमा निजी क्षेत्रलाई प्रभाव पार्ने व्यवस्था सुधारको पहल गर्न पनि महासंघले ओली र दाहाललाई ध्यानाकर्षण गराएको थियो ।
सो अवसरमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओलीले अर्थतन्त्र संवेदनशील अवस्थामा रहेकोतर्फ आफू पनि चिन्तित रहेको बताएक थिए । महासंघले राखेका सबै सुझावहरू जायज रहेका र तीनको संवोधन गर्न आफ्नो पार्टीले पुरा सहयोग गर्ने प्रतिवद्धता पनि ओलीले जनाए ।
‘छिट्टै तपाई उद्यमी व्यवसायी साथीहरूसँग बसेर यस विषयमा थप छलफल गर्छु,’ ओलीले भने, ‘अर्थतन्त्रलाई सही दिशामा ल्याउनेतर्फ राजनीतिक दलहरू बढी क्रियाशिल हुनुुपर्नेमा निजी क्षेत्रले चिन्ता व्यक्त गर्दै महासंघले अर्थतन्त्र जोगाउन गरेको पहलमा आफ्नो पुरा सहयोग रहने विश्वास हुन्छ ।’
यस्तै माओवादीका अध्यक्ष प्रचण्डले देशको आर्थिक अवस्थालाई कसरी माथि लैजान सकिन्छ र अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने वारेमा आफूपनि गम्भीर रहेको बताएका थिए । अध्यक्ष प्रचण्डले समस्या समाधानमा सबैको सामूहिक प्रयास आवश्यक रहेको भन्दै राजनीतिक नेतृत्वकोहिसावले उद्योग व्यवसाय क्षेत्रको समस्या समाधान र एफएनसीसीआईका सुुझाव कार्यान्वयनमा आफ्नो विशेष सहयोग रहने विश्वास दिलाए ।