धरान । धरानमा पूर्वाञ्चल क्षेत्रकै सबैभन्दा ठूलो टेक्निकल फेस्ट ‘एक्स टेक’को तेस्रो संस्करण सुरु हुने भएको छ । पूर्वाञ्चल क्याम्पस धरानको इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थी समाज (एक्सेस)ले फेस्टको आयोजना गर्न लागेको हो ।
यसअघि टेक फेस्टको दुई संस्सकरण सम्पन्न गरिसकेको एक्सेसले यो तेस्रो पटक फेस्टको आयोजना गर्न लागेको आयोजकले जनाएको छ । आयोजकका अनुसार टेक फेस्टको तेस्रो संस्करणमा एक्स टेक क्वीज, आईओटी ट्रेनिङ्ग, ह्याकाथोन, एआई/मेसिन लर्निङ्ग वर्कसप, लगायत अन्य थुप्रै वेबिनार र कार्यक्रमहरु रहेका छन् ।
कार्यक्रमको प्रि-इभेन्टको रुपमा एक्स टेक क्वीज, साइबर सेक्युरिटी वेबिनार, आईओटी ट्रेनिङ्ग, डेटा साइन्स वेबिनार, सेटेलाइट एण्ड कम्यूनिकेशनको वर्कसप, लिब्रे अफिस/द डकुमेन्ट फाउन्डेसनद्वारा वेबिनार, गीटहब एजुकेसन द्वारा सेमिनार, स्कुल/कलेज स्तरीय हाजिरीजवाफ प्रतियोगिता, फोटोग्राफी प्रतियोगिता लगायत इभेन्टहरु रहेका छन्’, एक्सेसका अध्यक्ष गोकर्ण बास्कोटाले भने, ‘मुख्य इभेन्टका रुपमा हार्डवेयर ह्याकाथन, रोबो रेस प्रतियोगिता र प्रोजेक्ट डेमोन्स्ट्रेसन रहेका छन् ।’
बास्कोटाका अनुसार सबै इभेन्ट भरीमा पूर्वाञ्चल क्याम्पस, पूर्वाञ्चल क्षेत्र साथै नेपालभरीका स्कुल तथा कलेजबाट ४ हजार जना सहभागीता रहनेछ ।
‘एक्स टेक’को पहिलो संस्करण ‘स्मार्ट डिजिटल रुम’ थिममा आयोजना गरिएको थियो । महावीर पुनको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त इभेन्टमा उल्लेखनीय सहभागिता रहेको थियो । त्यस्तै, दोस्रो संस्करण कोभिडको कारण अनलाइन माध्यमबाट गरिएको थियो, जसमा पनि उल्लेखनीय सहभागिता रहेको थियो । यस वर्ष भने ‘स्मार्ट, सेक्युर्ड र डिसेन्ट्रलाइज्ड इनोभेसन’ थिममा इभेन्ट आयोजना हुन लागेको एक्सेसका अध्यक्ष बास्कोटाको भनाई रहेको छ ।
प्रि-इभेन्टहरु कार्तिक ३० देखि सुरु भइसकेका छन् भने मेन-इभेन्ट पुस २७ र २९ का लागि नियोजित गरिएको छ । इभेन्टबारे जानकारी एक्सेसको फेसबुक पेज साथै वेबसाइट www.excess.ioepc.edu.np/Xtech बाट लिन सकिन्छ ।