काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामुहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् ।
अध्यक्ष मल्लले भने,‘आर्थिक विकास र सम्बृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भईरहेका छन ।’ उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए ।
कृषि, पर्यटन, एवम् साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई रहेको छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरी योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराएका थिए । विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसंगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अध्यक्ष मल्ले बताएका थिए ।
सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिजर्ना गर्न सकिने अध्यक्ष मल्लको तर्क रहेको छ ।