काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन सुरु भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा हुने भएको छ ।
जसअनुसार बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुने भएको छ । अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुने सक्नेछन् ।
साथै, विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ । त्यस बाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनु पर्नेछ ।
डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनुपर्नेछ । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश रहेका छन् । साथै, ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ ।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै, फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।