काठमाडौं । सनराइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ ।
बैंकले बैंकिङ सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ सेवा सुविधाको सही उपयोगिता, बैंकिङ विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक सम्वृद्धिमा योगदान पुर्याउने बैंकको विश्वास छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।