काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । र्याकेट इभेन्टस, बुढानिलकण्ठ, काठमाडौंमा सम्पन्न भएको सो सभाले प्रस्तावित ७ प्रतिशत बोनस सेयर र सो वापत लाग्ने कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश गरेर कुल ७.३६८४२ प्रतिशत लाभांश पारित गरेको छ ।
साथै, कम्पनीको साधारण सभाले आर्थिक वर्ष ०७८/०७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आर्थिक वर्ष ०७८/०७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
कम्पनीको चौथो वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै थप सार्वजनिक सेयर fpo निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । बोनस सेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब रु.६४ करोड २३ लाख पुग्ने देखिएको छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ ।
धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको कर्पोट कार्यालय, बुढानिलकण्ठ, काठमाडौंमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको जनाएको छ ।