काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को खुद नाफा ६७ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्दै निफ्राले गत आर्थिक वर्षको तुलनामा ६७.२८ प्रतिशत बढी नाफा आर्जन गरको जनाएको छ ।
निफ्राले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६९ करोड ४५ लाख ५८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा निफ्राको नाफामा आकर्षक वृद्धि हुँदै १ अर्ब १६ करोड १८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
पछिल्लो एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा वृद्धि भएको बैंकको प्रक्षेपण रहेको छ । गतवर्ष १ अर्ब २९ करोड १३ लाख १६ हजार खुद ब्याज आम्दानी गरेको निफ्राले चालु आर्थिक वर्षको सोही अवधिमा ५५.२२ प्रतिशत बढी अर्थात २ अर्ब ४४ लाख २ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा पनि ६७.३१ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ९७ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
नाफासँगै निफ्राको प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा निफ्राको ईपीएस २ रुपैयाँ ८८ पैसाले बढेर ७ रुपैयाँ १७ पैसा पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९ रुपैयाँ १९ पैसा छ । चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ ।