काठमाडौं । सुनचाँदीमा २ प्रतिशत विलासिता कर नलाग्ने भएको छ । १५ जेठमा प्रस्तुत गरिएको बजेट वक्तव्यमार्फत सरकारले १० लाखमाथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने घोषणा गरेको थियो । तर, उक्त कर नीतिको चौतर्फी विरोध भएपछि सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको हो ।
मंगलवार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेका सुनचाँदी व्यवसायीहरुले अर्थमन्त्रीबाट सुनचाँदीमा विलासिता कर नलगाउने आशयको अभिव्यक्ति आएको बताएका छन् । ‘भेटमा अर्थमन्त्रीज्युले हिरा, जवहारात, पत्थरजस्ता सुनचाँदी जडित गहनामा मात्रै २ प्रतिशत विलासिता कर लगाउने भनिएको उल्लेख गर्नुभएको छ ।’, वार्तामा सहभागी एक व्यवसायीले भने, ‘अर्थमन्त्रीका अनुसार यस्ता वस्तुहरु जडान नगरिएका सुनचाँदीका गरगहनामा विलासिता कर नलाग्ने भएको छ ।’
वार्ताका क्रममा अर्थमन्त्री डा.महतले सुनका गरगहना जोसुकैले पनि प्रयोग गर्ने भएकाले सुनचाँदी गरगहनामा विलासिता कर लगाउने सरकारको नीति नभएको स्पष्ट पारेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा अर्थमन्त्रालय पुगेको सुनचाँदी व्यवसायमा आबद्ध तीन महासंघको संयुक्त भेटमा मन्त्री महतले भन्सार दर वृद्धि गर्नुपर्ने कारण भने भारतीय र नेपाली बजारमा समान दर बनाउनका लागि भएको प्रष्ट पारेको सुनचाँदी व्यवसायीहरुले बताएका छन् ।