काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)मा आधारित फिल्म बन्ने भएको छ । निर्देशक राजु गिरीले मेयर शाहको कार्यमा आधारित रहेर ‘मेयर साहेब’ निर्माण गर्ने भएका हुन् ।
मेयर बनेपछि शाहले गरेको काम र कमाएको लोकप्रियतालाई आधार मानेर फिल्म निर्माण गर्न लागेको फिल्मका निर्देशक गिरीले बताएका छन् । फिल्म ‘मेयर साहेब’को लोगो समेत सार्वजनिक गरिएको गिरीले जानकारी दिएका छन् ।
फिल्ममा मेयर बन्नुअघि बालेनको संघर्ष र मेयर बनेपछि गरिएका कामलाई समेटिनेछ । फिल्ममा मेयर शाहले समाज सुदृढिकरणका लागि काम गर्दा भोग्नुपरेका सामाजिक तथा पारिवारिक चुनौतीलाई पनि कथावस्तुमा समेटिने निर्देशक गिरीको भनाई रहेको छ । निर्देशक गिरीका अनुसार फिल्मको छायांकन भदौ अन्तिम सातादेखि सुरु हुनेछ भने फिल्मको कलाकार चयन बाँकी रहेको छ । हाल फिल्म ‘मेयर साहेब’को प्रि–प्रोडक्सन र पटकथा लेखनको कार्य भइरहेको छ ।
विनिता फिल्मसको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘मेयर साहेब’मा विनिता गुरुङ र मौसमी महर्जनको लगानी रहनेछ । फिल्ममा निर्देशक गिरीको कथा, भोजराज देवकोटाको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत रहनेछ । त्यस्तै, नारायण खाती फिल्मका सहनिर्माता रहेका छन् ।