काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति पुरानै दस्तावेजको ‘कपि-पेष्ट’ भएको बताएका छन् । चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकको मौद्रिक नीतिमा खास नयाँ केही नभएको बताउँदै उनले सामान्य फेरबदलसहित पुरानै नीति दोहोरिएको बताएका हुन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै व्यवसायी प्रसाईंले मौद्रिक नीतिमार्फत अपेक्षा गरेको भए पनि कुनै अपेक्षा नभएको बताए । ‘के छ यो मौद्रिक नीतिमा ? केही नयाँ छ ? केही काम लाग्ने छ ?’, मौद्रिक नीतिमाथि प्रश्न गर्दैै उनले भने, ‘यसमा पुरानै नीति ‘कपि-पेष्ट’ गरिएको छ । फरक र विशेष केही पनि छैन । ब्याजदरका सवालमा झनै केही पनि छैन ।’
त्यस्तै, प्रसाईंले चालु आर्थिक वर्षको मौद्रिक नीतिले सर्वहारा, भुँईमान्छे र गरीबहरुको लागि पनि केही व्यवस्था नगरेको दाबी गरेका छन् । बरु ऋण नतिर्नेका लागि बैंकिङ कसुर मुद्धा संशोधन गरेर व्यवसायीलाई मार्ने नीति ल्याएको आरोप लगाएका छन् ।