काठमाडौं । एनसेल आजियाटा लिमिटेडले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मंगलबार आफ्नो कर्पोरेट कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
हाम्रो लाइफ बैंकको सहकार्यमा उक्त रक्तदान कार्यक्रमको आयोजना भएको हो । सो रक्तदान कार्यक्रममा १०० जना भन्दा बढी व्यक्तिले रक्तदान गरेका थिए । एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले कार्यक्रममा दान गरिएको रगत कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुने बताएका छन् । साथै, रक्तदाताले एसएमएसमार्फत रक्तदान कार्यक्रमको सुचना प्राप्त गर्न सक्नेछन् । एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै कम्पनीको ब्राण्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ र थिम ‘हामी तपाईंकै लागि’ अन्तर्गत रहि वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग भएकाले यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ । एनसेलले आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैमा आभार व्यक्त गरेका छन् । सिइओ कायुमोभले भने,’रक्तदान एउटा निःस्वार्थ कार्य हो र यसले मानव जीवनमा सकारात्मक पार्ने भएकाले मनमा ठूलो सन्तुष्टि दिन्छ, त्यसैले यो हामी सधैं नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको हुन्छ ।’
यस्तै, एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम गर्ने घोषणासमेत गरेको छ ।