काठमाडौँ । काठमाडौँमा प्रहरीकै मिलेमतोमा लुटपाट भएको पाइएको छ । २१ असोजमा निजी गाडीमा ठमेलबाट बालुवाटार जाने क्रममा कुमार रोका र नवराज नगरकोटीलाई रोकेर भएको लुटपाटमा प्रहरीकै मिलेमतो भएको पाइएको हो । लुटपाटमा प्रहरीको संलग्नता पुष्टि भएपछि हाल उक्त लुटपाटमा संलग्न तीनजना प्रहरीसहित पाँचजनालाई पक्राउ गरी डाँका चोरी मुद्धा दायर गरिएको छ ।
पक्राउ पर्नेमा प्रहरी सहायक निरीक्षक सुनबहादुर तामाङ, प्रहरी सहायक हवल्दार खगराज अधिकारी र प्रहरी जवान भुवन बराल रहेका छन् । उनीहरुले मदन पुरी र सन्तोष पुरीसँग मिलेर लुटपाट गरेका थिए ।
भएको के थियो ?
गत असोज २१ गते कुमार रोका र नवराज नगरकोटी छुट्टाछुट्टै निजी गाडीमा ठमेलबाट बालुवाटार जाँदै थिए । सोही क्रममा राति साढे ११ बजे प्रहरीको सिआरभी टोलीले चेकिङ भन्दै उनीहरुलाई रोक्यो । रोकाको गाडीमा तीनजना युवती देखेपछि प्रहरीले वेश्यावृत्तिका लागि युवतिहरु ‘सप्लाई’ गरेको आरोप लगाएर फसाइदिने भन्दै ‘ब्लायकमेल’ गर्न थाले । त्यसपछि उनीहरुले ती युवतिहरुलाई प्रहरीको सिआरभी भ्यानमा राखे ।
त्यसपछि कुमार रोका र नवराज नगरकोटीलाई प्रहरीसहितको टोलीले निर्मल निवासको गल्लीतर्फ लगे । जहाँ उनीहरुले १७ हजार पाँच सय नगद लुटपाट गरेको र थप डेढ लाख रुपैयाँ मागेको पीडतहरुको भनाई छ । पीडितका अनुसार आफूसँग त्यति धेरै पैसा नभएपछि प्रहरीसहितको टोलीले जबर्जस्ती इसेवामा पैसा हाल्न लगाएका थिए । उनीहरुले रोकाको मोबाइलबाट पाँच सय र नगरकोटीको मोबाइलबाट २५ हजार ट्रान्सफर गराएपछि पाँचैजनालाई छोडिदिएका थिए ।
ड्यिुटीमा खटिएका प्रहरीकै मिलेमतोमा यसरी उनीहरुले ४७ हजार पाँच सय रुपैयाँ लुटपाट गरेका थिए ।
कसरी बाहिरियो घटना ?
प्रहरीकै मिलेमतोमा लुटिएपछि पीडित रोका र नगरकोटीले प्रहरीको हटलाइन नम्बरमा जानकारी गराएका थिए । सो लगत्तै उक्त घटनामा संलग्न रहेका मदन पुरी र सन्तोष पुरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा लुटपाटमा प्रहरीको पनि संलग्नता पुष्टि भएपछि थप ३ जना प्रहरीलाई पनि पक्राउ गरी मुद्धा चलाइएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी कमोध ढुंगेलले जानकारी दिएका छन् ।
एसपी ढुंगेलका अनुसार उनीहरुविरुद्ध लुटपाट भएको रकम बराबरको बिगो बनाई डाँका चोरी मुद्धा चलाइएको छ ।
अझ अनुसन्धानबाट उक्त लुटपाट योजनाबद्ध रुपमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त लुटपाटको मुख्य योजनाकार मदन पुरी हुन् । उनले धम्क्याएर पैसा असुल्ने योजनासाथ नवराज नगरकोटीलाई फोन गरी तीनजना युवती लिएर आउन भनेका थिए । नगरकोटी सोही अनुसार तीनजना युवती लिएर गएका थिए । सोही क्रममा मदन पुरीको नाता पर्ने सन्तोष पुरी र प्रहरीको सहायता लिएर उनीहरुले लुटपाट गरेका थिए ।