काठमाडौँ । घर भाडामा लिने मान्छे पाउनै छोडेपछि घरबेटीले भाडामा पनि ‘अफर’ राख्न थालेका छन् । महिनौँदेखि घर खाली हुँदा पनि बस्ने कोही नपाएपछि चितवनका डेबिट चौधरीले घर भाडामा छुटको अफर ल्याएका हुन् । उनले भरतपुर महानगरपालिका-२ मा रहेको आफ्नो घर भाडामा लिनेलाई १ महिनाको भाडा छुटको अफर राखेका छन् ।
उनले आफ्नो सटर सहितको घरमा ‘१ महिनाको भाडा छुटसहित घर भाडामा’ भन्ने ब्यानर लगाएका छन्, जुन ब्यानर अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
विगत ५ महिनादेखि घर खाली हुँदा पनि कोही नआएपछि भाडामा बस्ने मान्छे खोज्न अफरको जुक्ति लगाएको उनले बताएका छन् ।
‘घर खाली भएको ७–८ महिनाभन्दा पनि धेरै भयो । घर भाडामा लिने पनि कोही आएनन् ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै डेबिट चौधरीले भने, ‘सोध्न पनि कोही नआएपछि जुक्ति लगाएको हो । घर भाडामा लिँदा एक महिनाको भाडा छुट दिने भनेपछि अहिले फोनहरु आइराछन् ।’ त्यस्तै, चौधरीले अब भने जो पहिला घर हेर्न र कुरा फाइलन गर्न आउँछ, उसैलाई घर भाडामा दिने बताएका छन् ।
पहिला आफ्नो घरमा व्यापार गर्दै आएका व्यक्तिले घर छोडेदेखि नै घर भाडामा लिने मान्छे खोज्दा पनि नपाएको चौधरीको भनाई छ । पहिला पहिला घर भाडामा लिने मान्छे जति पनि पाइने गरेको भए पनि अहिले भने घर भाडामा लिने, व्यापार गर्ने मान्छे नै नपाउने अवस्था आएको उनले बताएका छन् ।
महिनौँ बित्दा पनि घर भाडामा जाने स्थिति नआएपछि घर भाडामा छुटको अफर ल्याउनुपरेको चौधरीले बताएका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त पोष्टलाई धेरैले मन्दीको प्रभावका रुपमा विश्लेषण गरेका छन् ।