काठमाडौं। वाई वाई चाउचाउले जारी आईसीसी टी२० विश्वकपमा सहभागी नेपाली राष्ट्रिय टिमलाई प्रोत्साहित गर्न ठूलो राशीको पुरस्कार घोषणा गरेको छ । जसअनुसार जारी विश्वकपको सुपर-८मा पुग्न सफल भएमा नेपाली राष्ट्रिय टिमलाई वाइ वाइ चाउचाउले नगद रु. ३० लाख पुरस्कार दिने सीजी फुड्स नेपाल लिमिटेडले जनाएको छ ।
यो घोषणासँगै नेपाली क्रिकेटको राष्ट्रिय टिमले जारी टी२० विश्वकपको सुपर-८ पुग्नासाथ वाई वाई चाउचाउको तर्फबाट नगद ३० लाख प्राप्त गर्नेछ ।
साथै वाई वाई चाउचाउले जारी विश्वकपमा नेपालको जितको शृङ्ला अगाडि बढाउन खेलाडीहरूको मनोबल उच्च पार्ने उद्देश्यले अन्य विभिन्न पुरस्कारको पनि घोषणा गरेको छ ।
जसमा प्रत्येक रन बनाएबापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यमा यी पुरस्कारहरू घोषणा गरिएको हो । यसका लागि सीजी फुड्स नेपाल लिमिटेड र क्यानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त पुरस्कार घोषणाले नेपाली खेलाडीहरूलाई उच्च प्रदर्शन गर्न थप प्रोत्साहन मिल्ने विश्वास गरिएको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी फुड्सले विगत २० वर्षदेखि नेपालको यू-१९ क्रिकेटको प्रायोजन गर्दै आएको छ ।