काठमाडौँ । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका जोडीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । महानगरले आइतबार एक कार्यक्रमकाबीच १० जोडीलाई नगद रु एक-एक लाखसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका १९ का आशिष बिक र शान्ति घर्ती, भरतपुर १९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर २३ का नवीन बिक र कमला श्रेष्ठ, भरतपुर ११ का विवेक सुनार र अम्बिका कार्की, भरतपुर १६ सुशील परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । त्यसैगरी भरतपुर २५ का अविनाश सुनार र मिना भुजेल, भरतपुर १४ विवश महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर बिक र फुलमाया लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास बिक र माया कुमालको जोडी रहेका छन् ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा १० जोडीलाई सम्मान गरेका हुन् । सो कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुँदै गएको बताएकी छिन् ।
नेपालका ७ सय ५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताएका छन् । कार्यक्रममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले छुवाछुत समाजिक अन्धविश्वास रहेकाले यसको उन्मूलनको लागि सबै पक्ष एकजुट हुनुपर्ने जानकारी दिएका छन् ।
महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ । महानगरले हालसम्म अन्तरजातीय विवाह गर्ने २३ जनालाई सम्मान गरिसकेको छ ।