काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी सञ्चालकसँग पनि सोधपुछ गर्ने भएको छ । सहकारी ठगी सम्बन्धी थप प्रमाण जुटाउनका लागि सञ्चालकसँग पनि थप सोधपुछ गर्न लागेको समितिका सभापति सूर्यबहादुर थापाले बताएका छन् ।
उनले सहकारी ठगी मुद्दामा थप प्रमाण संकलन गर्नका लागि विभिन्न समयमा पक्राउ परेर थुनामा रहेका सहकारी सञ्चालकसँग पनि सोधपुछ गर्न लागेको हो ।
समितिले सञ्चालकसँग सोधपुछ गर्नुका साथै देश बाहिर रहेका ‘सहकारी ठग’हरुलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने भएको छ । ‘हामी सबै सहकारीका समस्याबारेमा जानकारी लिने अन्तिमतिर छौँ । जेलमा भएका सहकारी सञ्चालकहरुसँग पनि कानुनअनुसार रहेर सोधपुछ गर्छौं ।’, सभापति थापाले भने, ‘विदेशमा भागेर बसेकाहरुलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौँ । सरकार र संसदको काम गर्ने तरिका फरक हुन्छ, त्यो देखाउँछौँ ।’
त्यस्तै, सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन गरी ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको थापाले बताए । उनले समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरु जुटाइरहेको बताएका छन् ।
सभापति थापाले चितवनमा एउटै मान्छे कोषाध्यक्ष, पोखरामा अध्यक्ष र नेपालगञ्जमा उपाध्यक्ष अनि अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे हुने विषयलाई पनि समितिले गम्भीर रुपमा अध्ययन गरिरहेको बताएका छन् ।