काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले बचत परिचालनका लागि सहकारी नै आवश्यक नभएको बताएका छन् । समितिले सहकारी अभियान्ताहरुसँगको छलफलमा बोल्दै सभापति थापाले काठमाडौँको टोलटोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताएका हुन् ।
उनले राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको पनि उल्लेख गरेका छन् ।
अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको सभापति थापाले बताएका छन् । उनले देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको पनि उल्लेख गरेका छन् । ‘बचत तथा ऋण सहकारीको संख्या देशले धान्नै नसक्नेजति भयो ।’, उनले भने, ‘सहकारी वास्तवमा छरिएर रहेको साना पुँजी उत्पादन र सेवामा केन्द्रित हुने र सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान दिने हो । त्यसले मात्रै मुलुकको सामाजिक र देशको आवश्यकता सम्बोधन हुन्छ । बचत परिचालनको निम्ति सहकारी नै चाहिँदैनन् ।’
त्यस्तै, थापाले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताएका छन् । उनले बचत परिचालनको निम्ति सहकारी नै नचाहिने भन्दै सरकारले ७५३ पालिकामा बैंकहरुका शाखा पुर्याउने नीति अनुसार बैंकहरुको पहुँच बढाइएको बताएका छन् । काठमाडौँका टोलटोलमा बैंकका शाखा रहेकाले बचतकर्ता ठगी गर्ने सहकारी आवश्यकता नभएको पनि थापाले बताएका छन् ।
हाल सहकारीमा बचतकर्ताले १४ करोडसम्म बचत गर्ने गरेको पाइएको भन्दै १४ करोडसम्म सहकारीमा बचत गर्नु गैरकानूनी भएको पनि थापाले बताएका छन् । उनले १० लाख भन्दा बढी बचत र १० लाख बढी फिर्ता गर्न बैंकमा नपाइने व्यवस्था हुने अनि सहकारीहरुले पाइने विषय राम्रो नभएको पनि उल्लेख गरेका छन् । यतिसम्मकी समितिले छानविन गर्नुपर्ने २९ वटा सहकारीमा १२ वटा सहकारी एउटै व्यक्तिको भएको पाइएको पनि बताएका छन् ।