Skip to content
LAXMI SUNRISE BANK

कैलालीका किसानलाई कृषि सामाग्री वितरण…

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो

कैलाली । कैलालीमा किसानका लागि कृषि सामाग्री वितरण गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका ८ मजगाउँमा संघिय सरकारको ब्लक विकास कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानका लागी कृषि सामाग्री वितरण गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको उक्त प्याकेजमा ९५ जना किसानका लागी ४ थान पावर टिलर, २० थान मिनिटिलर, बाँसको प्लाष्टिक घर ५० थान, बोरिङ्गका लागि ठोकाई १५ मिटर, जि.आई.पाईप १५ मिटर, जडान सामाग्री १ सेट, प्लाष्टिक स्पेयर ४८ थान, इलेक्ट्रोनिक तराजु २ थान, इन्सेक्ट नेट ३० केजि र ७५ थान हजारी वितरण गरिएको हो ।

विगतका २ वर्ष उक्त क्षेत्रमा पकेट कार्यक्रम लागु गरिएको भएतापनि यसवर्ष आवश्यकताका आधारमा सोहि मोडालिटीको परिमार्जित ब्लक विकास कायक्रम लागु गरेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र प्रसाद शर्माले बताएका छन् । ‘कार्यक्रमको समन्वय केन्द्र र प्रदेश सरकारले गर्ने भएतापनि सञ्चालन तथा कृषक परिचालन भने समन्वय समूहले गर्छन’, उनले भने, ‘यस क्षेत्रलाई आगामी वर्षमा जोन हुँदै सुपर जोनका रुपमा स्थापित गर्नेछौँ ।’

त्यस्तै सामाग्री वितरणका लागी वडाभित्र रहेका विभिन्न ७ कृषक समूहलाई समेटेको मजगाउँ समन्वय कृषक समूहका अध्यक्ष चन्द्र प्रकास चौधरीले जानकारी दिए । बेमौसमी तरकारी खेतीका लागि प्रख्यात मानिएको उक्त क्षेत्रमा सक्रिय रुपमा लागेका किसानलाई वडा कार्यालयको सिफारिस र पहिचानका आधारमा सामाग्री वितरण गरेको चौधरीले बताएका छन् । ‘सरकारको यो कार्यक्रमले हामीलाई काम गर्न थप सहयोग मिलेको छ’, चौधरीले थपे, ‘आगामी दिनमा अझै बृहत योजना तथा कार्यक्रमको अपेक्षित छौँ ।’

गतवर्ष लागु गरिएको कृषि पकेट क्षेत्र कार्यक्रममा आफुले सहभागीता जनाएका स्थानिय किसान फुलराम चौधरीले उक्त कार्यक्रम आफुहरुका लागी निकै फलदायी रहेको बताएका छन् । मानविय सहयोगको भावनालाई आत्मसाथ गर्दै यसवर्ष आवश्यकताका आधारमा अरु किसानालाई पालो दिएको बताउँदै चौधरीले यो कार्यक्रमको निरन्तरताका सवालमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै बेमौसमी तरकारी खेती गर्दै आएकी माया चौधरीले पनि सरकारबाट ५० प्रतिशत अनुदानमा कृषि सामाग्री पाउँदा खुसी लागेको बताएकी छिन् । सामाग्री पाएसँगै कृषि पेशामा थप बल पुग्ने आशा उनले व्यक्त गरिन् । आफ्नो पेशालाई आउँदा दिनमा थप प्रोत्साहन गर्दै सक्रिय रुपमा काम गर्ने चौधरीले बताएकी छिन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK