काठमाडौँ । लघुवित्त वित्तीय संस्थाले असल कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने भएको छ । मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यसअघि कर्जा सापटीको लागि बक्यौता साँवा रकमको आधारमा असल वर्गमा वर्गीकरण भएका कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको थियो ।
तर, राष्ट्र बैंकले उक्त व्यवस्थालाई संशोधन गर्दै असल कर्जामा १.१ प्रतिशत मात्रै कर्जा नोक्सानी व्यवस्था गर्दा हुने व्यवस्था गरिदिएको छ । यसले लघुवित्तको प्रोभिजन गर्नुपर्ने रकम घट्न गई लघुवित्तको नाफा बढोत्तरीमा मद्दत पुग्ने देखिन्छ । यति मात्र होइन, असल कर्जामा हुने प्रोभिजन घट्दा खराब कर्जा अनुपातसमेत घट्ने देखिएको छ ।
राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको खराब कर्जा अनुपात घटाउने तथा नाफा बढाउनेगरी गरेको नीतिगत व्यवस्थाले लघुवित्तहरु उत्साहित बनेका छन् । लघुवित्तको यस्तो सर्कुलरले लघुवित्तको नाफा वृद्धिमा सहयोग पुग्ने स्वयम् लघुवित्तकर्मीहरुले बताएका छन् ।
त्यस्तै, राष्ट्र बैंकले सूक्ष्म निगरानी कर्जाका लागि ५ प्रतिशत, कमसल वर्गमा वर्गीकरण भएका कर्जाका लागि २५ प्रतिशत, शंकास्पद कर्जाका लागि ५० प्रतिशत र खराब कर्जाका लागि १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिएको छ ।