काठमाडौँ । काठमाडौँ उपत्यका अव्यवस्थित घर निर्माणले मात्र होइन, अव्यवस्थित प्लटिङले पनि कुरूप बन्दै गइरहेको छ । पछिल्लो समय व्यक्तिगत स्वार्थपूर्तिका लागि भइरहेका अव्यवस्थित जग्गा प्लटिङले सिंगो उपत्यकालाई नै कुरुप र उजाड बनाइरहेको छ ।
यसो त उपत्यकाभित्र त्यस्ता थुप्रै जग्गा प्लटिङहरु छन्, जुन कानून विपरीत भएका छन् ।
यसैबीच ललितपुरको गोदावरी नगरपालिका-८ मा पनि न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको पाइएको छ । वर्षौंदेखि बाँझो रहेको जग्गा बेचाउन, जग्गाको भाउ महँगो देखाउनका लागि न्यूनतम पूर्वाधारसमेत नपुगेको ठाउँमा प्लटिङका नाममा जग्गा सम्माउने, जमिनको स्वरुप बिगार्ने तथा प्रकृतिमाथि दोहन गर्ने काम भइरहेको पाइएको हो ।
ललितपुर मात्र होइन उपत्यकाका थुप्रै ठाउँमा कतै मापदण्डअनुसार जग्गा नछोडी प्लटिङ गरिएको छन भने कतै जङ्गल र सार्वजनिक जग्गासमेत मिचेर प्लटिङ गरिएको छ । मापदण्ड नै पूरा नगरी मनपरी जग्गा प्लटिङ गरेर प्रकृतिमाथि चरम दोहन हुँदासम्म पनि सम्बन्धित निकाय भने बेखबर छन् । नियम विपरीत काम गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसक्दा उपत्यकाका अव्यवस्थित जग्गा प्लटिङ भयावह बन्दै गएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः