काठमाडौँ । उपचार गर्ने पैसा नपाएर सहकारी पीडितको मृत्यु भएको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । सहकारीबाट पीडित बनेका ६६ वर्षीय राजेन्द्र स्थापितको रकम अभावकै कारण मृत्यु भएको भन्दै मृतकको शवसहित काठमाडौँको रत्नपार्कमा प्रदर्शन गरिएको हो ।
मृतकका आफन्तका अनुसार स्थापित न्युरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्थाबाट ठगिएका थिए ।
सहकारीका अध्यक्ष ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन् । उनले निःसन्तान स्थापित दम्पत्तिलाई बैंकले भन्दा बढी ब्याज दिने र बुढेसकालमा सुविधाका लागि आवश्यक व्यवस्था गरिदिने प्रलोभन दिँदै बैंकबाट सहकारीमा बचत गर्न लगाएर ठगी गरेको आफन्तले आरोप लगाएका छन् । मृतकका आफन्तका अनुसार सहकारीका अध्यक्ष राई लगायतले राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर सहकारीमा जम्मा गर्न लगाएका थिए ।
स्थापित लामो समयदेखि बिरामी परेको र उपचारका लागि ५ लाख रुपैयाँ जम्मा गर्न आग्रह गर्दा पनि सहकारीका अध्यक्षले अटेर गरेकी कारण रकम अभावका कारण स्थापितको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । आन्दोलनमा सहभागिहरुले मृतक स्थापितलाई न्याय दिनुपर्ने र उनकी श्रीमतीको संरक्षणका लागि राज्यले पहल गर्नुपर्ने माग गरेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः