काठमाडौँ । निरन्तर घट्दो क्रममा रहेको बैंकहरुको ब्याजदरबीच बैंकहरुले सस्तोमा सेयर धितो कर्जा दिन थालेका छन् । हाल वाणिज्य बैंकहरुले आधार दर (बेस रेट)मा केही प्रिमियम जोडेर सेयर धितो कर्जा दिन थालेका हुन् ।
यसो त आधार दर (बेस रेट) कर्जाको ब्याजदर निर्धारण गर्ने आधार हो । बैंकहरुले आफ्नो आधार दर जति छ, त्यसमा केही प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्छन् । यसरी आधार दरमा कति प्रिमियम जोड्ने भन्ने अधिकार बैंकहरुलाई नै दिइएको हुन्छ ।
हाल अधिकांश वाणिज्य बैंकहरुको बेस रेट एकल अंकमा झरेको छ । यसरी एकल अंकमा झरेको बेस रेटमा बैंकहरुले केही प्रिमियम जोडेर धमाधम सेयर धितो कर्जा दिन थालेका छन् ।
हाल नेपालमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । तर, यस बैंकले सेयर धितो कर्जा प्रवाह गर्दैन । त्यसपछि सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ७.०१ प्रतिशत छ । यसले आधार दरमा २ प्रतिशतदेखि २.५० प्रतिशतसम्म प्रिमियम थप गरेर सेयर धितो कर्जा प्रवाह गर्दै आएको छ ।
त्यस्तै, अन्य अधिकांश बैंकले आधार दरमा न्यूनतम शून्यदेखि अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्दै आएका छन् । तर, हाल अधिकांश बैंकले आधार दरमा १ देखि २ प्रतिशतसम्म प्रिमियम जोडेर सेयर कर्जा प्रवाह गर्दै आएका छन् ।