काठडमाडौँ । मकैबाट पनि चटपटे बनाइन्छ भन्दा आश्चर्य लाग्न सक्छ । देशका अधिकांश स्थानमा भुटेका चना, भुजा, चाउचाउलगायत खाद्यपदार्थ मिसाएर बनाइने चनाचटपटे मकैबाट पनि तयार गर्नसकिन्छ भन्ने सबैलाई थाहा छैन । तर, दाङको देउखुरी क्षेत्रमा व्यावसायिक रूपमा मकैखेती हुने भएकाले सारती अधिकारी मकै चटपटे बेच्दै आएकी छिन् ।
राप्ती गाउँपालिका–३ मसुरिया निवासी अधिकारी मकैको चटपटेबाट आम्दानी पनि प्रशस्त गर्दै आएकी छिन् ।
सुरुमा आफूले पनि भुजा, चाउचाउको चनाचटपटे बनाउने गरेको तर पछि यसमा प्रयोग हुने मेसिन र तालिम गाउँपालिकाबाट निःशुल्क पाएपछि नयाँकाम सुरु गरेकोे सारतीले बताइन् । ‘घरमा त्यसै बस्नुभन्दा व्यवसायमा जोडिएपछि दुई–चार पैसा आवश्यक परेका बेला अरुसँग माग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’, उनले भनिन् ।
त्यस्तै, चटपटे बनाउन प्रयोग गरिने मेसिन निःशुल्क पाएपछि अझ सहज भएको उनको भनाई छ । मेसिन मकै उसिन्ने, अचार बनाउनेलगायत काममा प्रयोग हुने गरेको छ । अन्यको भन्दा मकैको चटपटे सबैले मन पराएर खाइदिने हुँदा व्यवसाय गर्ने हौसला पनि उनमा बढ्दै गएको छ । २८ वर्षीया सारती सोही वडाको खुरुरिया पुलनिर विगत चार वर्षदेखि चटपटेसँगै पानीपुरीको व्यवसाय पनि गर्दै आएकी छिन् ।
यो व्यवसायबाट दैनिक रु एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने भएकाले मासिक रु २०-२५ हजार बढीको कारोबार गर्दै आएको उनी बताउँछिन् । ‘मासिक रु १०-१२ हजार बचत हुने गरेको छ ।’, उनले भनिन् । अघिपछिको तुलनामा शनिबार अझ अलि बढी व्यापार हुने सारतीले बताएकी छिन् ।