काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार बसेको निगमको सञ्चालक समितिको बैठकले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।
निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको छ ।
योसँगै अब पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, आलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज)मा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्ग (सुर्खेत र दाङ्ग)मा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल)मा प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल क्रमशः १५१ रुपैयाँ ५० पैसा, १५३ रुपैयाँ र १५४ रुपैयाँ पर्नेछ ।
त्यस्तै, निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ ।
यता भारतीय आयल निगम (आईओसी)ले नयाँ मूल्यसूचीमा एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसा बढाएर पठाएको भए पनि आएको भए पनि हाललाई मूल्य यथावत राखेको निगमले जनाएको छ ।