काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको क्याबिनेटले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।
यसअघि बोर्ड अध्यक्षका लागि बनेको छनोट समितिले अध्यक्षका लागि श्रेष्ठसहित धितोपत्र बोर्डका कार्यकारी निर्देशकद्वय मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीलाई प्रस्ताव गरेको थियो । यद्यपी कार्यकारी निर्देशकद्वयको नाम औपचारिकताका लागि मात्र पुगेको थियो ।
धितोपत्र बोर्ड तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएपछि २०८० पुस २० पछि बोर्ड अध्यक्षविहीन थियो ।
अन्तत: बोर्डले नयाँ अध्यक्ष पाएको छ । अध्यक्ष पाएसँगै अव बोर्डले नयाँ स्टकको लाइसेन्स प्रक्रियासमेत अगाडी बढाउने भएको छ ।
को हुन् त सन्तोष नारायण श्रेष्ठ ?
धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको जन्म स्याङ्जामा भएको हो । बिक्रम सम्बत २०३३ सालमा स्याङ्गजाको भिरकोट नगरपालिकामा जन्मिएका उनले पढाई र काम भने बुटवल र काठमाडौँमा गरेका हुन् ।
यसअघि स्वाभिमान लघुवित्त वित्तीय संस्थामा झन्डै ८ वर्ष अध्यक्षसमेत भईसकेका उनी तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समासमेत १० बर्ष अध्यक्षको भूमिकामा थिए । श्रेष्ठ स्वाभिमान लघुवित्त र नेपाल एक्सप्रेस फाइनान्सका संस्थापकसमेत हुन् ।
श्रेष्ठ नेपाल विद्युत प्राधिकरणमासमेत तीन वर्ष सञ्चालक थिए । उनी हाइड्रोपावरका लगानीकर्तासमेत हुन् । उनी र उनको परिवारको लगानीमा हाल ४ बढी हाइड्रोपावर छन् ।
श्रेष्ठ म्यानको आजीवन सदस्य हुन् भने रुपन्देही चेम्बर अफ इन्डस्ट्रिजको कार्यकारी सदस्यसमेत हुन् ।