काठमाडौं । विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा, जोन्टा, एनसेल फाउन्डेसन, युएनएफपिए, र युनिसेफ नेपालले बालविवाह अन्त्यको लागि जनचेतना जगाउन र संयुक्त पहलद्वारा यसको समाधान खोज्न योगदान पुर्याउने उद्देश्यले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरेका थिए ।
कार्यक्रमको उद्घाटन जोन्टाका अध्यक्ष बिना रानाले गरेकी थिइन् । उनले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन् । कार्यक्रममा युनिसेफ नेपालकी डेपुटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपिए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ, कमला विष्ट, कलाकार प्रकाश सपूत, र एसडीजी स्टुडियोले ‘शिरमै फुर्के रिबन’ शीर्षकको सङ्गीत भिडियो सार्वजनिक गरेका थिए । यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन युएनएफपिए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन् ।
नेपालमा बालविवाह अझै पनि लैङ्गिक समानता र महिला तथा किशोरीहरूको सशक्तिकरणको लागि प्रमुख चुनौती बनेको छ । यहाँ तीनमध्ये एक किशोरी १८ वर्षभन्दा पहिले नै विवाह गर्छन्, जसले गर्दा उनीहरूको स्वास्थ्य, शिक्षा, र आर्थिक अवसरमा गम्भीर असर पार्छ । महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले भने, ‘बालविवाह मानव अधिकारको उल्लङ्घन हो र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक छ ।’
महिला नेतृत्वमा रहेका संस्थाहरू र महिला सशक्तिकरणको कार्यक्रमहरूले लैङ्गिक हिंसाविरुद्ध अग्रणी भूमिका खेल्दै आएका छन् । यी संस्थाहरूले महिलाहरू र किशोरीहरूको वास्तविक आवश्यकता बुझेर दीर्घकालीन परिवर्तन ल्याउन सक्छन् । महिला अधिकारकर्मी तथा युनाइटेड नेशनलकी सीइडीएडब्ल्यु, कमिटी सदस्य वन्दना रानाले भनिन्, ‘महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैङ्गिक समानता प्रबन्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम छन् ।’
निजी क्षेत्रले पनि बालविवाह अन्त्यका प्रयासहरूमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । स्रोत, प्लेटफर्म र आफ्नो प्रभावमार्फत, नेपाली व्यवसायहरूले लैङ्गिक समानता तथा बाल संरक्षण प्रबर्द्धन गर्ने निती आफ्नो कार्यस्थलमा समावेश गर्न सक्छन् । साथै, आर्थिक सशक्तिकरणका कार्यक्रमहरूद्वारा किशोरीहरू र महिलाहरूलाई बालविवाहको विकल्प उपलब्ध गराउन सक्छन् ।
यस कार्यक्रममा आफ्नो धारणा राख्दै एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एण्ड सीएसआर, विशाखा लक्ष्मी खड्काले भनिन् ‘नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध छ । एनसेलमा हामी लैङ्गिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभइ सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास राख्छौं । यस किसिमको विभिन्न क्षेत्रको साझेदारीहरूको माध्यमबाट, हामी यस सामूहिक प्रयासलाई प्रोत्साहन गर्न, समुदायलाई सशक्त बनाउन सक्ने वातावरण निर्माणतर्फ काम गर्न चाहन्छौं ।’
बालविवाहको मूल समस्याहरू, जस्तै गरिबी, शिक्षा अभाव, र सीमित आर्थिक अवसरलाई समाधान गर्न महिला नेतृत्वमा रहेका संस्थाहरू, निजी क्षेत्र, र अन्य सरोकारवालाहरूको एकीकृत दृष्टिकोण आवश्यक छ । यस सहकार्यद्वारा बालविवाह अन्त्य गर्न सबै पक्षले आफ्नो अनुभव र स्रोत प्रयोग गरी योगदान गर्न सक्छन् ।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैङ्गिक हिंसा अझै पनि गम्भीर समस्या हो, जसलाई बालविवाहको बढ्दो दर र जलवायु परिवर्तनका खतराहरूले थप जटिल बनाएको छ । ‘जोन्टा सेज नो टु भायोलेन्स अगेंस्ट वुमन’ अभियानमार्फत, हामी महिलाहरू, किशोरीहरू र समाजको उज्ज्वल भविष्य निर्माण गर्न प्रतिबद्ध छौं । २०१८ देखि जोन्टा इन्टरनेशनलले युएनएफपीए–युनिसेफ ग्लोबल प्रोग्राम टु इन्ड चाइल्ड म्यारिजलाई समर्थन गर्दै आएको छ । युनिसेफ, युएनएफपिए, र एनसेल फाउन्डेसनसँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छ ।’