काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालिन उपप्रबन्धक शशिकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन् । श्रेष्ठलाई प्रहरी वृत स्वयम्भूको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
नेपाल बैंकमा कार्यरत रहँदा श्रेष्ठले विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हजार ७८४ हानिनोक्सानी गरी भ्रष्टाचारको कसुर अपराध गरेको ठहर भएको थियो । उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो ।
२०६८ साल भदौ ६ गते विशेष अदालत काठमाडौँले श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतका व्यक्तिहरूलाई दोषी ठहर गरी सजाय सुनाइएको थियो भने २०७३ साल कार्तिक २५ गते सर्वोच्चले उक्त फैसला सदर गरेको थियो ।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सोमबार अदालतमा पेस गरिने भएको छ । अदालतमा पेश गरेपछि उनी फैसला कार्यान्वयनको लागि कारागार बस्नुपर्नेछ ।
उक्त मुद्दामा दोषी ठहर भएका अन्य व्यक्तिको पनि फैसला कार्यान्वयन बाँकी छ ।