काठमाडौँ । सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बिदा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई आजै (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकले प्राधिकरणबाट बिदा गर्ने तयारी गरेको हो ।
घिसिङलाई विद्युत प्राधिकरणबाट बिदा गरेर सरकारले उर्जा आयोगको विज्ञ बनाउने तयारी गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार कुनै अन्यथा नभए कुलमान घिसिङलाई सरकारले आजै प्राधिकरणबाट बिदा गर्नेछ ।
यसो त तत्कालीन समयमा केपी ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हितेन्द्रदेव शाक्यलाई तत्कालीन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले प्राधिकरणबाट हटाएर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । सोही शैलीमा हाल केपी ओली नेतृत्वको सरकारले घिसिङलाई प्राधिकरणबाट बिदा गर्ने तयारी गरेको हो ।
अर्कोतर्फ कुलमानलाई प्राधिकरणबाट हटाउने सरकारको तयारीलाई प्राधिकरण र उद्योगीबीचको बक्यौता विवाद सामसुम पार्ने योजनाका रुपमा पनि विश्लेषण हुन थालेको छ । यसै पनि डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्कासँग घिसिङको मनमुटाव चलिरहेकैबीच सरकारको यस्तो तयारीले सरकार उद्योगीको पक्षमा रहेको भन्ने चर्चालाई थप बल पुगेको छ ।