काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि ४ जनाको नाम सर्टलिस्टमा परेको छ । अघिल्लो पटक सीईओका लागि आवेदन दिएका सबैजना परीक्षामा फेल भएपछि पुनः आवेदन दिएकाहरु मध्येबाट चारजनाको नाम सर्टलिस्ट गरिएको हो ।
कम्पनीको सीईओ छनौट समितिले सीईओका लागि आवेदन दिएका महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थीको नाम सर्टलिस्ट गरेको हो ।
उनीहरु चारैजनालाई समितिले अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि माघ ४ र ५ गते बोलाएको छ । कम्पनीका अनुसार माघ ४ गते प्रस्तुतीकरण हुनेछ भने ५ गते अन्तर्वार्ता हुनेछ । अन्तर्वार्ता तथा प्रस्तुतीकरण काठमाडौँको रामशाहपथस्थित कम्पनीको प्रधान कार्यालयमा हुनेछ ।
यसअघि कम्पनीले असोज १६ गते पहिलो पटक सीईओका लागि आवेदन मागेको थियो । आवेदन दिएका चारजना प्रतिस्पर्धीहरू सबैजना अन्तर्वार्तामा फेल भएका थिए । त्यसपछि कम्पनीले मंसिर ६ गते पुनः सीईओका लागि आवेदन मागेको हो ।