काठमाडौँ । नबिल बैंक लिमिटेडका डेपुटी जनरल मेनेजर आदर्श बजगाईंले नबिलकै स्वामित्वमा रहेको नबिल स्टक डिलरमार्फत आफ्नी छोरीको नाममा करोडौंको उधारो सेयर कारोबार गरेको खुलासा भएको छ । नबिल स्टक डिलरकै कर्मचारीले बजगाईंको कारोबार विवरणसहितको स्टेटमेन्ट लिक गरिदिएपछि र यस विषयमा स्टक डिलरकै एक कर्मचारीले धितोपत्र बोर्डमासमेत उजुरीपरेपछि यस्तो रहस्य बाहिर आएको हो ।
सो उजुरीमा बजगाईंले आफ्नो लाभका लागि आफ्नी छोरीको नामबाट हालसम्म ११ करोड भन्दा बढीको सेयर कारोबार गरेको र उजुरी गरेको मितिसम्म करिव डेढ करोड रुपैयाँ ब्रोकरकहाँ भुक्तानी गर्न बाँकी रहेको उल्लेख छ । २०२४-०७-२९ देखि हालसम्म ११ करोड रुपैयाँको कारोबार बिना कोल्याट्रल कारोबार गरेको, र हालसम्म करिव डेढ करोड रुपैयाँ बक्यौता रहेकाले यस विषयमा थप अनुसन्धान गरी आदर्श बजगाईंलाई कारवाहीको मागसमेत गरिएको छ ।
अर्थ सरोकारलाई नबिल स्टक डिलर स्रोतले नै उपलब्ध गराएको बजगाईंको छोरीको कारोबार विवरणमा पनि उनको करिव डेढ करोड बक्यौता बाँकी रहेको देखिन्छ । विभिन्न मितिमा उनको छोरीका नाममा कारोबार भए पनि सो कारोबार बैंकमा बसेर बजगाईं स्वयमले गर्ने गरेको र यस विषयमा बैंकले उनलाई संरक्षण गरिरहेको आरोपसमेत उजुरीमा उल्लेख छ ।
नबिल स्टक डिलरका प्रवक्ता मदन तिमिल्सीनाले पनि बजगाईंका नाममा केहि उधारो रहेको तर हाल सो सेटल भईसकेको दाबी गरेका छन् । ‘डिजीएम सरले गर्नुभएको सबै कारोबारको सेटल भईसक्यो । उहाँले सबै सेटल गरिसक्नुभयो ।’ तिमिल्सिनाले अर्थ सरोकारसँग भने, ‘सबै कुरा स्टेटमेन्ट हेरेपछि प्रष्ट हुन्छ ।’
यता आदर्श बजगाईं भने करिव १० दिनसम्म प्रयास गर्दा पनि सम्पर्कमै आउन चाहिरहेका छैनन् । हामीले उनलाई १० दिनको अन्तरालमा पटक पटक सम्पर्क गर्दा पनि उनी हामीसँग सम्पर्कमै आउन चाहिरहेका छैनन् । यस विषयमा धारणा माग्न फोन गर्दा नबिल बैंकका सूचना अधिकारी सुरेश प्रसाद त्रिपाठीको फोन निरन्तर अफ छ ।
ग्राहकका विवरण लिक !
यसो त नबिल स्टक डिलरले गैरकानुनी रुपमा आफ्ना ग्राहकका विवरण ‘लिक’ गर्नेसमेत पाइएको छ । त्यसमाथि पनि नबिल बैंकमा काम गर्ने कर्मचारीले गरिरहेको कारोबार विवरणहरु भकाभक बाहिरिन थालेको छ । जसका कारण, एकातर्फ लगानीकर्ताको गोपनियतामाथि नबिलले मजाक उडाएको छ भने अर्कोतर्फ सो कम्पनीमा कारोबार गर्न असुरक्षित रहेको तथ्य प्रमाणित भएको छ । यद्यपी धितोपत्र बोर्डमा लामो समय हालीमुहाली गरेका निरज गिरी नै संचालक भएकाले कसैले केहि गर्न नसक्ने भन्दै नबिलले ग्राहकको सूचनामा हदैसम्मको मनपरी गरिरहेको पाइएको छ ।
यता धितोपत्र बोर्डले भने कुनै पनि गैरकानुनी र अनैतिक देखिने कारोबारमा आफ्नो उच्च निगरानी रहने बताउँदै आएको छ । यसअघि पनि बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले आफु लगानीकर्ताको हितमा रहेकोले लगानीकर्ताको पक्षमा काम गर्ने र बजारमा हुनेगरेका गलत गतिविधि रोक्ने बताउँदै आएका थिए ।
(कम्पनीमा मदन तिमिल्सिनाले गरेको ‘शंकास्पद कारोबार’को नालीबेली अर्को अंकमा…’)