काठमाडौँ । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बुटवलको सुप्रिम सहकारी ठगी कसुरमा मुद्दा दायर भएपछि उनी आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका हुन् ।
बयानका लागि रवि लामिछाने मंगलबार नै रुपन्देही पुगिसकेका छन् । उनी आज अदालतमा उपस्थित हुनेछन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पोखरामा धरौटी बुझाएर छुटे लगत्तै उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । काठमाडौँ जिल्ला अदालतले पनि रविलाई ६० लाख धरौटीमा रिहा गरेको छ ।
सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो । सहकारीका १० हजार ३९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको भन्दै यसअघि गत बैशाख ३ गते २८ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता भएको थियो ।