काठमाडौँ । नबिल स्टल डिलर अर्थात ब्रोकर नम्बर ७७ ले सूचनाका नाममा झुट सार्वजनिक गरेको छ ।
आफ्नै हाकिमकै श्रीमतीको कारोबार विवरणसमेत सुरक्षित राख्न नसकेको नबिल स्टक डिलरले ग्राहकको व्यक्तिगत विवरण, वित्तीय विवरण, कारोबार विवरण र अन्य व्यक्तिगत विवरण सुरक्षित रहेको भन्दै झुटो सूचना सार्वजनिक गरेको हो ।
‘…नबिल स्टक डिलर लिमिटेडले यहाँहरुको व्यक्तिगत विवरण/वित्तीय विवरण/कारोबार विवरणहरु तथा अन्य व्यक्तिगत विवरणहरुको गोपनियताको सुनिश्चितता गर्दछ ।’, नबिल स्टक डिलरले सार्वजनिक गरेको सूचनामा भनिएको छ । तर, नबिल स्टक डिलरमा ग्राहकको कुनै पनि विवरण सुरक्षित छैन भन्ने प्रमाणसहितको समाचार यसअघि अर्थ सरोकारले सार्वजनिक गरेको थियो ।
यतिसम्म कि नबिल स्टक डिलरबाट कारोबार गर्ने लगानीकर्ताको कारोबार विवरणको स्टेटमेन्ट नै असम्बन्धित व्यक्तिकहाँ पुगेको थियो । जुन प्रमाण अर्थ सरोकारसँग सुरक्षित छ । अर्थ सरोकारलाई प्राप्त प्रमाण अनुसार कम्पनीका सिनियर कर्मचारी मदन तिमिल्सिनाले श्रीमती सिमोनी सेढाईका नाममा गरेको कारोबार गरेको पाइएको थियो । जुन कारोबार कानूनी व्यवस्थाविपरीत रहेको समेत पाइएको छ ।
कम्पनीबाट आफ्नै हाकिमकै श्रीमतीसहित अन्य ग्राहकको कारोबार विवरणसमेत छताछुल्ल भइरहेका बेला कम्पनीले ‘ग्राहकको व्यक्तिगत विवरणको गोपनियताको सुनिश्चितता गर्छौं’ भन्दै सूचना सार्वजनिक गर्नू हास्यास्पद छ ।
यसरी लगानीकर्ताको विवरण कम्पनीबाट कसरी बाहिरियो ? भन्ने विषयमा अनुसन्धान गर्नु र गैरकानूनी कारोबार गर्ने कर्मचारीलाई कारवाही गर्नुको साटो कम्पनीले यस किसिमको सूचना सार्वजनिक गर्नुले गैरकानूनी कारोबार गर्न कर्मचारीलाई छुट दिएको प्रस्ट देखिन्छ ।