×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राधिकरणकै मनपरी निर्णयले बीमा क्षेत्रमा भ्रमको प्रचार, सेयरधनीको पैसामा मनपरी ‘अवार्ड’ खेती !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्राधिकरणकै मनपरी निर्णयले बीमा क्षेत्रमा भ्रमको प्रचार, सेयरधनीको पैसामा मनपरी ‘अवार्ड’ खेती !

Artha Sarokar

२८ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । केही दिन यता तपाईंहरुले आईएमई लाइफ इन्स्योरेन्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, सूर्यज्योति लाइफ इन्स्योरेन्स लगायतका कम्पनीले विभिन्न अवार्ड पाएको खबर पढ्नु नै भएको होला । हुन पनि ती कम्पनीहरुले संसारै जितेजसरी अवार्ड पाएको खबर मिडियामा पठाइरहेका छन् । तर यो अवार्ड भित्रको रमाइलो भने फरक छ ।

विभिन्न कम्पनीले पाए भनिएका अवार्डहरु कुनै पनि दम नभएका अवार्ड हुन् । अझ स्पष्ट भन्दा कन्फेरेन्समा सहभागी बटुल्ने माध्यमका रुपमा आयोजकले गरेको बिजनेश हो । कन्फेरेन्स भन्दा कोही नआउने भएपछि अवार्ड देखाएर आयोजकले बीमा सम्बन्धी एउटा कन्फेरेन्स आयोजना गर्यो । सोही कार्यक्रममा गएकाहरुलाई विभिन्न शीर्षकका अवार्डहरु दिइएको हो । गत वर्ष पनि विभिन्न कम्पनीहरुलाई यस्तै अवार्ड दिइएको थियो । पोहोर अवार्ड पाएकाहरु यसपालि लाजैले गएनन् । पोहोर नपाएकाहरुले यसपालि थाइल्याण्ड गएर अवार्ड थापेर आएका छन् ।

अवार्ड पाउन पनि कम्पनीहरुले यसरी पाए कि कम्पनीका सूचना अधिकारीहरुलाई नै आफूले पाएका अवार्डका नामसमेत थाहा रहेनछ । सूर्यज्योति लाइफ इन्स्योरेन्सका सूचना अधिकारी उमेश प्रसाद मैनालीले आफूले पाएको अवार्ड कुन हो भन्ने कुरा हेर्नुपर्ने बताए । यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सका सूचना अधिकारी गणेश चौलागाईंलेसमेत आफूले पाएको अवार्ड कुन हो भन्ने कुरा थाहा नभएको बताए । उनले भने- ‘प्रेस नोट बनाइएको छ, त्यो पठाइदिन्छु हेर्नुस् न ।’

आईसीसी २०२४ एसिया इन्स्योरेन्स नामक कार्यक्रममा पुगेर सन नेपाल लाइफ इन्स्योरेन्सले तीन प्रतिष्ठित विधामा अवार्ड ल्याएको छ । कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ तथा ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा अवार्ड प्राप्त गरेको छ । जसको तीन लेयरसम्म महिला नै छैनन्, जसको सिइओ पुरुष छन्, सोही कम्पनीले पाएको अवार्ड भने बीमा क्षेत्रमा पहिला नेतृत्व नामको छ । अझ कम्पनीले ग्राहकमैत्री जीवन बीमा सेवा विधामा अवार्ड पाएको छ । एउटा विदेशी प्राइभेट कम्पनीले नेपालको सेवा कस्तो छ भनेर कसरी थाहा पायो ? अझ कम्पनीले उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति भनेरसमेत अवार्ड पाएको छ । सन् नेपाल लाइफकै धेरै कर्मचारी कम्पनीले यस्ता नामका अवार्ड पायो भन्नेमा अचम्मित छ ।    

विवाहमा तीन-तीन वटा कसार, २ –२ वटा सेल र एक एक वटा पुरी भनेर भाग लाएजसरी अवार्ड पाउनेहरुले ३-३ वटा अवार्ड लिएका छन् । अझ आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड ल्याएको छ।

सन् नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स दुवैले महिला नेतृत्वमा महिला नामको अवार्ड पहिलो दोश्रो खालको पाएका छन् । अझ आईएमई लाइफले त सर्वश्रेष्ठ जीवन बीमा कम्पनी भनेर अवार्ड पाएछ । के आईएमई लाइफ नेपाल लाइफ भन्दा सर्वश्रेष्ठ भइसक्यो ? कि सिइओ नयाँ हुने बित्तिकै कम्पनी सर्वश्रेष्ठ भइसक्यो । जुन कम्पनीमा सिइओ टिक्दैनन्, डेपुटी सिइओ आइएमई ग्रुपले बाँडेर दिन्छ, सो कम्पनी कसरी उत्कृष्ट हुन सक्छ ?

जीवन बीमा कम्पनी सूर्यज्योतिले समेत अवार्ड पाएको छ । धन्न यो कम्पनीले उत्कृष्ट बीमा सेवा नामको अवार्ड पाएनछ । बीमाको रकम प्राप्त गर्न जहाँ ग्राहकले दुई तहका अदालतको फैसला कुर्नुपर्यो, सो कम्पनी अवार्डको लायक कसरी भयो ?  अझ कम्पनीले पाएको अवार्डको नाम बेस्ट इन्नोभेसन लिड बाई टेक्नोलोजी एन्ड इन्सर्टेक्स रहेछ । जसको बीमा दाबी पाउन अदालतको तारेख धाउनुपर्छ, सो कम्पनीले पाएको अवार्डको नाम यस्तो छ ।

नेपालमा सिटिजन्स बैंकले बैंक अफ दी एयर अवार्ड पाएपछि बैंकसँग सरोकार राख्नेहरुका लागि सो अवार्ड मजाकको विषय बनेको छ । जुन बैंकमा संचालक गैरकानुनी रुपमा चुनिन्छन्, पछि उजुरी परेपछि बाहिरिन्छन्, जसले सीएसआरको पैसा चकलेट बाँडेर दुरुपयोग गर्छ, जुन बैंकका सीइओको नियुक्ति नै विवादमा छ, जुन बैंकको खाताबाट भकाभक पैसा हराएका घटनाहरु बाहिरिएका छन्, जुन बैंक संभवतः नेपालमै सबैभन्दा बढी विवादित छ, सोही बैंकले बैंक अफ दी एयर अवार्ड पाएपछि अहिले कुनै बेला बैंक अफ दी एयर अवार्ड पाएको खुसी बाँड्नेहरु पनि अहिले दुख व्यक्त गरिरहेका छन् । अझ सिटिजन्सले बैंक अफ दी एयर अवार्ड पाएको रमाइलो नसकिंदै विभिन्न नामका अवार्ड पाउनेहरुको सूचीले अर्को मजाक थपिदिएको छ ।

खासमा यस्ता अवार्ड लिने बीमा प्राधिकरणले रोक्नुपर्ने थियो । तर अवार्ड सँगसँगै कन्फेरेन्स पनि भएकाले बीमा प्राधिकरणले उनीहरुलाई जान स्वीकृति दिएको रहेछ । यति बेला बीमा प्राधिकरणका अधिकारीहरु नै विभिन्न कम्पनीले अवार्ड पाएको सुनेर आफुहरु छक्क परेको बताईरहेका छन् । ’बीमा सम्बन्धी केही पढ्छन् पनि, थाइल्याण्डको रमाइलो हेरेर आउँछन् पनि भएर ओके भनेको हुनुपर्छ प्राधिकरणले, साथीहरुले त अवार्ड पो बोकेर आएछन् ।’  प्राधिकरणका एक अधिकारीले अर्थ सरोकारसँग भने, ’यस्तो स्वीकृति रोक्नुपर्छ भन्ने विषयमा अव प्राधिकरण भित्रै बहस चल्न जरुरी छ ।’

ती अधिकारीका अनुसार यस्ता अवार्ड लिन जान नदिन यसअघिका अध्यक्ष सुर्य सिलवालले मातहतका कर्मचारीहरुलाई मौखिक निर्देशन दिएका थिए । तर भ्रष्टाचार अभियोग लागेर उनकै पद चट भएपछि अहिलेका अध्यक्षलाई प्रभावमा पारेर कम्पनीहरु सो कन्फेरेन्समा भाग लिन गई अवार्ड ल्याएका हुन् । ती कम्पनीहरुले गएको, आएको, सो कन्फेरेन्समा सहभागी भएको खर्चसमेत कम्पनीलाई भार पारेका छन् । 

आईएमई लाइफ उत्कृष्ट बीमा कम्पनी रे ! यो भन्दा मजाक अरु केही हुन्छ ? सूर्य ज्योति लाइफ इन्स्योरेन्सले अवार्ड पायो रे, यो पनि अर्को मजाक भएन र ? अनि सन् नेपाल लाइफ इन्स्योरेन्सले पाएका अवार्डका नाम हेर्नुस त ! यो अकवर र बीरबलको ठट्टा भन्दा कम छ र ? हुन त अध्यक्ष नै घुस खाएर पदमुक्त हुने प्राधिकरणको मातहतमा बसेकाहरुबाट यहि अपेक्षा गर्ने त होला नि होइन र ? यसले बीमा बजारमा भ्रमबाहेक केही बाँडेको छ र ? 

अवार्ड पाएका कम्पनीहरुलाई अवार्ड अगाडी राखेर आफ्नो कामको रिपोर्ट हेर्ने हो भने आफ्नै मुख हेर्न पनि लाज लाग्छ होला । यति साह्रो त नगरौं न हौ । बरु अवार्ड लिनै मन लागे प्राधिकरणलाई एउटा टोली बनाउन लगाउँ, ठिकै छ, सिइओ सापहरुलाई मन पर्ने थाइल्याण्ड नै पाठाऔँ, तर सेयरधनीको पैसामा यतिसाह्रो उग्र मोज त नगरौं न हौ । हुन्न र ?  

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी