काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकले बैशाख २ गते (मंगलबार) देखि पाँच रुपैयाँ दरका थप १० लाख थान नयाँ नोट प्रचलनमा ल्याएको हो ।
हाल प्रचलनमा ल्याइएको पाँच रुपैयाँको नयाँ नोट साबिककै आकार र रंगमा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार न४५ ०००००१ देखि भ१८ ९९९९९९का नोट प्रचलनमा ल्याइएको छ ।
प्रचलनमा आएको पाँच रुपैयाँको नयाँ नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप छ । जसमा राष्ट्र बैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ । नोटको तल्लो भागको किनारमा वि.सं २०८१ लेखिएको छ ।
नोटको पछिल्लो भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक, मध्यभागमा जङ्गली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र र तल्लो भागको किनारामा अंग्रेजीमा रुपैयाँ फाइभ तथा मिति लेखिएको छ ।