काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २९ वर्षीय उरुषा क्षेत्री, २७ वर्षीय केदार ढुंगाना र ४० वर्षीय पोषणराज घर्ति क्षेत्री रहेका छन् ।
राम्रो देश, राम्रो काम र आकर्षण तलबको प्रलोभनमा परेर विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गर्ने उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये उरुषा क्षेत्रीले क्यानडा पठाउने भन्दै एक जनाबाट ८ लाख रुपैयाँ, केदार ढुंगानाले दुई जनालाई माल्दिभ्स पठाउने भन्दै ८ लाख रुपैयाँ र पोषणराज घर्ति क्षेत्रीले दुई जनालाई जापान पठाउने भन्दै ३४ लाख ५० हजार रुपैयाँ ठगी गरेका थिए ।
हाल उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।