काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २८ वर्षीय जसमान तामाङ, ३६ वर्षीय भुपाल श्रेष्ठ र ४८ वर्षीय मिन बहादुर थापा रहेका छन् ।
उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये तामाङले ५ लाख २० हजार, श्रेष्ठले ८ लाख र थापाले ७५ लाख रुपैयाँ ठगी गरेर सम्पर्क विहीन भएका थिए । पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
हाल भने उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।