काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले सरकारको ढुकुटीले मात्रै पूर्वाधार निर्माणको काम गर्न नसकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले राजस्वले मात्रै विकास निर्माणको आवश्यकता पूरा गर्न अहिलेको अवस्थामा सम्भव नरहेको भन्दै सरकारले वैकल्पिक वित्त कोषको प्रबन्ध गर्न लागेको पनि बताएका छन् ।
अर्थमन्त्री पौडेलका अनुसार उपलब्ध स्रोतले विकास निर्माणको आवश्यकता पूरा गर्न अहिले कठिन छ । लागत र प्रतिफलको सन्तुलन मिलाएर निजी क्षेत्रलाई लगानी गर्न यो बजेटले ढोका खोलेको छ । त्यसले स्रोत व्यवस्थापनको चुनौती समेत सम्बोधन गर्ने अपेक्षा सरकारले गरेको अर्थमन्त्रीले बताएका छन् ।
‘पूर्वाधार निर्माणमा स्रोतको अभाव हुने विषय लामो समयदेखि कुरा उठ्ने गरेका छ । यो विषयमा छलफल पनि गर्दै आएका छौँ । ठूला आयोजना छन् । महत्वपूर्ण आयोजना छ । स्रोतको आवश्यकता फराकिलो छ । तर सीमित स्रोतको एलोकेशन गरिन्छ । त्यो सीमित स्रोतबाट आयोजना कहिले पूरा हुने ? कति वर्षमा पूरा हुने भन्ने खालका प्रश्न उठ्ने गरेका छन् । त्यसअर्थमा सरकारले अहिले यो बजेटबाट नयाँ प्रबन्ध गरेका छौँ ।’, उनले भने, ‘हामीले ट्रेजरीबाट मात्रै विकासका पूर्वाधारका काम पूरा गर्ने त्यति सजिलो छैन । किनकी हामी देखिरहेका छौँ, अहिले राजश्वले साधारण खर्च मात्रै धान्नसक्ने अवस्थामा छ । त्यसैले वैकल्पिक विकास वित्त कोष खडा गर्ने तयारीमा छौं । यसले स्वदेश र विदेशको निजी क्षेत्रलाई पूर्वाधार विकासमा लगानी गर्न आकार्षित गर्नेछौँ ।’
त्यस्तै, अर्थमन्त्री पौडेलले राजस्वले पूर्वाधार निर्माण गर्नसक्ने सामथ्र्य बनाउनेगरी अघि बढ्न भने जरुरी रहेको बताएका छन् ।