काठमाडौँ । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछी उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताएका छन् ।
उनका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछी तरकारीको उत्पादन धेरै भएको छ । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिद्धिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना रहेको थिङले बताएका छन् ।
हाल लौका १५-२० रुपैयाँ, करेला २०-२५ रुपैया, बोडी १५-२० रुपैयाँमा बेच्नु परेको उनको भनाई छ । यसले न व्यापारीलाई फाइदा भएको छ, न किसानलाई । ‘धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन ।’, उनले भने, ‘धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यति छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।’
त्यस्तै, अन्य व्यापारीहरुका अनुसार पनि अहिले तरकारी नबिकेर कुहिँदा फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलो मात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ । कालिमाटीमा व्यापार गर्दै आएकी अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताइन् । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताएकी छिन् ।
‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीका स्टलहरु पनि ठाउँठाउँमा भए । तहातही स्टलहरु छन् ।’, उनले भनिन्, ‘सस्तो भएपछि मान्छेले खान मन पराउँदैनन् । त्यही भएर होला तरकारी नबिकेको ।’ अर्कोतर्फ देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी बिक्री नभएको कार्कीको बुझाइ छ ।
तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरुको भनाई रहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मङ्गलवारका लागि लोकल गोलभेँडा २९, ठूलो गोलभेँडा ९५, मकैबोडी ४६, मटरकोसा १५२, लौका १७, घिरौँला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैयाँ तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ । त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।