काठमाडौँ । नक्कली बैंक मेनेजर बनेर लाखौँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको देवानगन्ज गाउँपालिका १ बस्ने २० वर्षीय कुशेश्वर मेहता रहेका छन् ।
उनले आफु थाइल्याण्डकाे सियाम कमर्शियल बैंकको मेनेजर भएको भन्दै विभिन्न प्रलोभन देखाएर कुर्मराज शाहीको ६२ लाख ७५ हजार रुपैयाँ ठगी गरेका थिए ।
प्रहरीका अनुसार मेहताले कुर्मराज शाहीलाई आफु मेनेजर रहेको बैंकमा एलेन अर्बी शाहीको नाममा खाता रहेको र उसको सम्पत्ति खाने कोही व्यक्ति नभएको हुँदा जात मिल्ने भएकाले उक्त व्यक्तिको खातामा भएको सम्पूर्ण रकम कुर्मराज शाहीको हुने भन्दै प्रलोभनमा पारेर आफ्नो नाममा रहेको विभिन्न बैंक खाताहरूमा पटक-पटक गरी उक्त रकम पठाउने लगाएका थिए ।
लामो समयदेखि फरार रहेका मेहतालाई प्रहरीले असार १० गते सुनसरीको कोशी गाउँपालिकाको भण्टाबारीस्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेकाे थियो । मेहतालाई पक्राउ गरी मुलुकी अपराध संहिता, २७४ को दफा २४९ विपरीत ठगी गरेको हुँदा आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।